लिपुलेकबारे प्रधानमन्त्री बालेनको भारत भ्रमणमा छलफल नभएको भारतको भनाइ
भारत सरकारले नेपाली प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्रीले नेपाल र भारतबीचको भेटवार्तामा लिपुलेकको विषय नउठेको बताएका हुन् ।
भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले प्रधानमन्त्री शाहले लिपुलेक नाकामार्फत भइरहेको भारत–चीन व्यापारबारे नेपालको आपत्ति उठाए कि उठाएनन् भन्ने प्रश्न गरेका थिए । जवाफमा मिस्रीले यस विषयमा दुई देशबीच कुनै छलफल नभएको बताए ।
यस्तै, उनले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अब विगतको विषय भइसकेको टिप्पणी गरेका छन् । सीमा व्यवस्थापनका लागि दुई देशबीच विभिन्न तहका संयन्त्र सक्रिय रहेको उनको भनाइ छ ।
सन् २०१६ मा गठन भएको ईपीजीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष तथा सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका विषयमा सुझाव दिन सन् २०१८ मा प्रतिवेदन तयार गरेको थियो । तर, उक्त प्रतिवेदन हालसम्म दुवै देशका सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छैन ।