भारतले नेपाललाई भैरहवा हवाई रुट उपलब्ध गराउने, दशकौँदेखिको मागमा सहमति जुट्यो
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ। सहमतिअनुसार भारतले हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउन सहमति जनाएको हो।
भ्रमणका क्रममा जारी संयुक्त प्रेस वक्तव्यको आठौँ बुँदामा ‘बी३४५’ हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएको उल्लेख छ। यससम्बन्धी मोडालिटीलाई अन्तिम रूप दिन तथा नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा छलफल गर्न प्राविधिक परामर्श गरिने जनाइएको छ।
नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा सहमति जुटाउनुअघि भारतले पनि बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई रुट मागेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्ने सहमति जुटेको हो।
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो। विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको माग थियो।
हाल सीमित हवाई प्रवेशमार्गमा निर्भर रहनुपर्दा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा कठिनाइ हुँदै आएको छ। नयाँ रुट उपलब्ध भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवासहित नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
नेपालका विभिन्न प्रधानमन्त्रीको भारत भ्रमणमा हवाई रुटको विषय उठ्दै आए पनि यसअघि ठोस सहमति हुन सकेको थिएन। प्राविधिक, सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी विषयमा दुई देशबीच छलफल र परामर्श हुँदै आएको थियो।
यसपटकको सहमतिले नेपालको हवाई पूर्वाधारमा गरिएको लगानीको उपयोग बढाउन र अन्तर्राष्ट्रिय उडान विस्तार गर्न नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।