देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत
नेपाली कांग्रेसको देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् ।
दाङको पाखापानीमा सोमबार राति सम्पन्न समूहको दोस्रो प्रदेश अधिवेशनले थापालाई सभापतिमा चयन गरेको देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले जानकारी दिए ।
प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित थापा प्रदेश सरकारमा दुई पटक मन्त्री भइसकेका छन् । उनले यसअघि यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापतिसमेत दुई कार्यकाल भइसकेका छन् ।
थापाको नेतृत्वमा लुम्बिनी प्रदेशमा देउवा समूहको संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ । अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्य चयनका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवासहित शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद, डा. प्रकाशशरण महतलगायतका नेताहरू सहभागी भएका थिए ।