पटाकाको छर्रा लागेर बालकको मृत्यु भएपछि पर्सामा प्रहरीको निगरानी कडा
तिहार तथा छठ पर्व नजिकिएसँगै पटाका पड्काउने क्रम बढ्न थालेपछि पर्सा प्रहरीले पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा निगरानी कडा पारेको छ।
पटाका पड्काउने क्रममा निस्किएको छर्रा लागेर पाँच वर्षीय बालकको मृत्यु भएपछि प्रहरीले नियन्त्रण तथा निगरानीलाई थप प्रभावकारी बनाएको हो।
गत सोमबार पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाकाको छर्रा लागेर पाँच वर्षीय कुन्दन सहनीको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्न विशेष गस्ती तथा निगरानी बढाइएको छ।
उनका अनुसार चाडपर्वका बेला ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था रहेकाले प्रहरीले सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी गरिरहेको छ।
प्रहरीले यसअघि पनि चाडपर्वका समयमा पटाका तथा विस्फोटकजन्य सामग्री प्रयोग नगर्न सर्वसाधारणलाई पटक–पटक आग्रह गर्दै आएको छ।