पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज मंगलबार दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
यसअघि सोमबार तीन घण्टा सवारी आवागमन बन्द गरेर निर्माण कार्य गर्ने भनिए पनि काम सम्पन्न हुन नसकेपछि आज पुनः समय निर्धारण गरिएको हो ।
प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा ट्राफिक नियम र सडक अनुशासन पालना गर्न सवारी चालक र यात्रुलाई आग्रह गरेको छ ।