सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
काठमाडौंको सुन्दरीजलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। गएराति करिब ८ः१५ बजे भएको दुर्घटनामा इटहरी निवासी ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको हो।
बागमती प्रदेश ०२–०१५७ नम्बरको मोटरसाइकल चालक ढुंगाना अर्को मोटरसाइकलसँग ठोक्किएर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा गएराति मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको पनि नेपाल मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ।