संवाद र समन्वयलाई प्राथमिकता दिन ज्ञवालीको आग्रह
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले अन्तर्राष्ट्रिय सम्बन्धमा शक्ति प्रयोगभन्दा संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा शनिबार निकोसियामा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले बढ्दो भू–राजनीतिक तनाव, आर्थिक असमानता र जलवायु सङ्कटले लोकतन्त्र तथा अन्तर्राष्ट्रिय शान्तिमा चुनौती थपेको बताए ।
उनले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रहरूको सार्वभौमसत्ता र पारस्परिक सम्मानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । शान्ति शक्तिशाली राष्ट्रको मात्र विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उनको भनाइ थियो ।
ज्ञवालीले सामाजिक न्याय, श्रमिक अधिकार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि समाजवादी विचारधाराको महत्त्व रहेको उल्लेख गरे । साथै, अन्तर्राष्ट्रिय वामपन्थी शक्तिबीच शान्ति, समानता र न्यायका लागि सहकार्य आवश्यक रहेको बताए ।