दरबारमार्गस्थित लिक्विड लाउन्ज बारको आगो नियन्त्रणमा
काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान ८ बजेर ५५ मिनेटमा सुरु भएको आगलागी दमकलको सहायताले नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार आगो नियन्त्रणमा लिन लाउन्जका केही संरचनासमेत भत्काउनुपरेको थियो।
उनले आगलागीबाट कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन्। घटनाबाट भएको भौतिक क्षतिको विवरण भने आकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, आगलागीको वास्तविक कारण खुल्न बाँकी रहेको र त्यसबारे अनुसन्धान भइरहेको एसपी थापाले बताएका छन्। आगलागी नियन्त्रणमा आए पनि क्षतिको यकिन विवरण तथा घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।