कम्बोडिया र थाइल्यान्डबीच समुद्री सीमा विवाद समाधानका लागि संयुक्त प्राविधिक कार्यदल गठन
कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री क्षेत्रको सीमा निर्धारण तथा समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय आयोगलाई दुवै देशका तट र सम्बन्धित टापुहरूको स्थलगत भ्रमण गर्न दिने सहमति गरेका छन् ।
मलेसियाको क्वालालम्पुरमा समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (युएनसीएलओएस) अन्तर्गतको मेलमिलाप आयोगसँग भएको चारदिने तेस्रो बैठकपछि यस्तो सहमति भएको हो ।
बैठकले समुद्री सीमा निर्धारणसम्बन्धी प्राविधिक विषयमा काम गर्न दुवै देशका विज्ञ तथा आयोगका सदस्य सम्मिलित संयुक्त प्राविधिक कार्यदलसमेत गठन गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिअनुसार स्थलगत भ्रमणबाट विवादित क्षेत्रको भौगोलिक अवस्था र त्यससँग सम्बन्धित परिस्थितिबारे आयोगलाई थप जानकारी प्राप्त हुनेछ ।
कम्बोडियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री प्राक सोखोन्नेले बैठकमा भएको प्रगतिलाई सकारात्मक कदम भन्दै दुई देशबीच आपसी सहकार्य र समझदारी आवश्यक रहेको बताएका छन् ।
त्यस्तै, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासाक फुआंगकेटकोले समुद्री सीमा विवाद समाधानका लागि मेलमिलाप प्रक्रियामा रचनात्मक सहभागिता जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।