‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधि बिनिता गुरुङलाई
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले उपाधि हात पारेकी हुन् ।
रिबन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगिता विवाहित महिलाहरूको सहभागिता रहने सौन्दर्य प्रतियोगिताको छैटौँ संस्करण हो । विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न विधाका उपाधिसमेत प्रदान गरिएको छ । शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’, क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’ र रिचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल’को उपाधि जितेका छन् ।
त्यस्तै, नेहा गुप्ता फर्स्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप घोषित भएका छन् ।
रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा र सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायत रहेका थिए । निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिका आधारमा मूल्याङ्कन गरेका थिए ।