पाल्पामा बसको ठक्करबाट गुल्मीकी ३७ वर्षीया महिलाको मृत्यु
पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनामा गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक निवासी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको हो।
आज साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया केशरी कुँवर र पछाडि सवार माया कुँवर घाइते भएका थिए।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो। उपचारका क्रममा मायाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।
स्कुटर चालक केशरी कुँवरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।