सर्लाहीमा सुनचाँदी पसल चोरी गर्ने दुई भारतीय नागरिक पक्राउ
सर्लाहीको हरिवन बजारस्थित एक सुनचाँदी पसलबाट गरगहना चोरी गरी फरार भएका दुई भारतीय नागरिकलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार बिहान करिब ४ बजे हरिवन नगरपालिका–११ स्थित सुरज साहले सञ्चालन गर्दै आएको ‘रिद्धि सिद्धि ज्वेलर्स’मा चोरी भएको थियो।
पसलमा चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले खोजतलास तीव्र पारेको थियो। खोजतलासका क्रममा हरिवन नगरपालिका–११ स्थित कबिन कार्कीको घरमा डेरा गरी बस्दै आएका दुई भारतीय नागरिकलाई चोरी भएका गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्लाअन्तर्गत आदापुर थाना क्षेत्रको औरहिया पञ्चायत–११ निवासी २५ वर्षीय जुनैद अंसारी र झरोखर थाना क्षेत्रको आठमोहनी पञ्चायत–१२ निवासी २८ वर्षीय रियाज अंसारी रहेका छन्।
प्रहरीले उनीहरू बस्दै आएको कोठाबाट चोरी भएका विभिन्न प्रकारका सुनका गरगहना तथा चोरीमा प्रयोग गरिएका औजारसमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीका अनुसार पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।