महेन्द्र यादवले पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री महेन्द्र यादवले मधेसी क्लस्टरबाट पुनः सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
१४औँ महाधिवेशनमा यही क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका यादवले कांग्रेसलाई विचारमा स्पष्ट, संगठनमा सक्रिय, अनुशासित र जनतासँग जोडिएको पार्टी बनाउन पुनः उम्मेदवारी दिन लागेको बताएका छन्।
उनले लोकतान्त्रिक गणतन्त्र, समावेशिता र समानुपातिक व्यवस्थालाई सुदृढ गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफ्नो भूमिका आवश्यक रहेको दाबी गरे। यादवले आफूभन्दा माथिल्लो पदमा जाने अवसर भए पनि वरिष्ठ नेताहरू उपसभापति र महामन्त्रीमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेकाले यसपटक पनि सहमहामन्त्रीमै प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए।
तरुण दलका अध्यक्ष, नेपाल विद्यार्थी संघका उपाध्यक्ष र कांग्रेस सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका यादवले आफ्नो अनुभवका आधारमा नेता–कार्यकर्ताको समर्थन पाउने विश्वास व्यक्त गरेका छन्।