एनपीएलको उद्घाटन खेल हेर्न प्रधानमन्त्री शाह कीर्तिपुरमा
प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल अवलोकन गर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुगेका छन्।
प्रधानमन्त्री शाह रंगशाला पुगेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रतियोगिताको सुरक्षाका लागि एक सयभन्दा बढी सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ।
सोमबारदेखि सुरु भएको एनपीएलको सुरक्षालाई व्यवस्थित बनाउन विभिन्न क्षेत्रमा कमान्ड पोस्ट स्थापना गरिएको छ। प्रतियोगिताभर सुरक्षाका लागि १ हजार २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।
आठ फ्रेन्चाइज टोली सहभागी यस संस्करणमा करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने अनुमान गरिएको छ। अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र बंगलादेशका शाकिब अल हसनजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी सहभागी हुने भएकाले प्रतियोगिताप्रति दर्शकको आकर्षण बढेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्। खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।