पाठ्यक्रम विकास केन्द्रको समकक्षता सेवा अस्थायी रूपमा बन्द
पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रमाणपत्र वितरणसम्बन्धी सेवा केही समयका लागि बन्द गरेको छ। केन्द्रका अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित प्रणालीमा सुरक्षा कमजोरी भेटिएको भन्दै जरुरी साइबर सुरक्षा एडभाइजरी जारी गरेपछि अनलाइन समकक्षता प्रणालीको सुरक्षा अद्यावधिक गर्ने काम भइरहेको छ।
प्रणालीको सुरक्षा मजबुत बनाउन प्राविधिक अद्यावधिक गर्नुपर्ने भएकाले सेवाग्राहीले प्राप्त गर्दै आएका समकक्षतासम्बन्धी सेवाहरू अस्थायी रूपमा रोकिएको केन्द्रले जनाएको छ।
केन्द्रले प्राविधिक अद्यावधिकको काम सम्पन्न हुनासाथ सेवा पुनः सञ्चालनमा ल्याइने स्पष्ट पारेको छ। सेवा अस्थायी रूपमा बन्द हुँदा सेवाग्राही तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति केन्द्रले क्षमासमेत मागेको छ।