अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने
अब एटीएमबाट १०० रुपैयाँ दरका नोट पनि निकाल्न सकिने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार नेपाल राष्ट्र बैंकले एटीएमबाट साना दरका नोट निकाल्न सकिने व्यवस्था गर्न लागेको हो।
राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा श्रेष्ठका अनुसार नजिकिँदो दसैंमा नयाँ तथा सुकिला नोट लिन बैंकमा हुने भीड कम गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।
बैंक तथा वित्तीय संस्थाहरूले दसैंका बेला सुकिला नोट वितरणका लागि बैंकमा भीड बढ्नुको सट्टा एटीएमबाटै साना दरका नोट निकाल्न सकिने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएका थिए।
हाल अधिकांश एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिन्छ। तर, सबै एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न भने सम्भव हुने छैन।
परम्परागत एटीएम मेसिनमा दुईवटा दरका नोट मात्रै राख्न मिल्ने भएकाले प्रविधि अनुकूल रहेका केही सीमित एटीएमबाट मात्रै १०० रुपैयाँका नोट निकाल्न सकिने राष्ट्र बैंकले जनाएको छ।