बाढीले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौं–मुग्लिन सडकमा लेदो थुपारेको थियो।
बाढीले ठाउँठाउँमा थुपारेको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा लेदो पूर्ण रूपमा पन्छाउन बाँकी रहेकोले सडक एकतर्फी सञ्चालनमा आएको उनको भनाइ छ।
गएराति ८ बजेतिर सडक वान वे सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालयले जनाएको छ। बाढीका कारण राजमार्गका ठाउँठाउँमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम भइरहेको विभागको भनाई छ।
सडकमा सवारीको चाप रहेकाले समस्या भएका ठाउँठाउँमा सुरक्षाकर्मी राखेर सहजीकरण गरिएको छ भने बैरनी क्षेत्रमा अझै केही समस्या रहेको छ। दुई चार घण्टामा उक्त ठाउँको लेदो पन्छाइएपनि सडकमा सवारी सञ्चालन गरेर लेदो पन्छाउँदा काम गर्न असहज हुन सक्ने भएकाले दुईतर्फी सडक सञ्चालनमा ल्याउनेगरि काम भइरहेको बताइएको छ।