दिवङ्गत आफन्तको सम्झनामा काठमाडौँमा गाईजात्रा मनाइँदै
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज काठमाडौँ उपत्यकामा परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै छ।
शनिबार बिहानैदेखि काठमाडौँको बसन्तपुर क्षेत्रमा गाईको पहिरनमा सजिएर तथा दिवङ्गत आफन्तको तस्वीरसहित नगर परिक्रमा गरी गाईजात्रा मनाउन सुरु गरिएको छ। सहभागीहरूले बाजागाजासहित विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गर्दै नगर परिक्रमा गरिरहेका छन्।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने परम्परा छ। यस क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न तथा द्रव्य दान गर्ने गर्छन्।
गाईजात्रामा नगर परिक्रमा गराएपछि वर्षभरि दिवङ्गत भएका व्यक्तिले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ।
ऐतिहासिक मान्यताअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई दुनियाँमा शोक व्यहोर्ने परिवार धेरै छन् भन्ने देखाउन गाईजात्रा सुरु गराएका थिए। त्यसपछि पनि रानीको मन शान्त नभएपछि राजाले विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएको जनश्रुति छ। यही परम्पराबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने चलन विकसित भएको मानिन्छ।
गाईजात्राका क्रममा सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रदर्शन, प्रहसन, नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरिन्छ। मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतसमेत गाउने परम्परा छ।
गाईजात्रा देशका विभिन्न शहरमा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ। हनुमानढोकास्थित तत्कालीन राजप्रासाद भएर गाईजात्राको नगर परिक्रमा गराउने परम्परा पनि अहिलेपर्यन्त कायम छ।