शिक्षकलाई कुटपिट गरेर हत्या गर्ने ११ जना पक्राउ
केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट हत्या गरेको आरोपमा पक्राउ परेका ११ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लागेको भदौरे मेलामा गएका ३९ वर्षीय शिक्षक राईको कुटपिटबाट मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय भोजपुरले ११ जना आरोपितलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुङ्देलका सागर कोयी राई, प्रतीक राई, निशान राई, सुशील राई, अमर राई, उमेश दुमी राई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका सबैलाई आइतबार जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको थियो। अदालतले थप अनुसन्धानका लागि उनीहरूलाई पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिक्षक राई र आरोपितमध्येका केही व्यक्तिबीच पुरानो रिसिइबी रहेको खुलेको छ। सोही विवादका क्रममा भदौ ११ गते राति राईमाथि कुटपिट भएको र उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले भदौ १२ गते आरोपितहरूलाई पक्राउ गरेको थियो।
विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार राहत कोटाको निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राई लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै गाउँबाट हिँडेका थिए। सोही दिन उनी धार्मिक तथा पर्यटकीयस्थल साल्पापोखरी पुगेका थिए।
प्रत्यक्षदर्शीका अनुसार भदौ ११ गते साँझ साल्पापोखरी नजिकै माबुमा लागेको धार्मिक मेलामा शिक्षक राई र सुङ्देलकै माइकल भनिने निशान राईबीच विवाद भएको थियो। मृतकका आफन्तले भने पुरानो रिसिइबीका कारण निशानले योजनाबद्ध रूपमा कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
स्थानीयका अनुसार शिक्षक राई र निशानबीच यसअघि पनि पटकपटक विवाद तथा झगडा हुँदै आएको थियो। एउटै गाउँका ११ जना एकैपटक पक्राउ परेपछि सुङ्देलमा तनावको अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
घटना भोजपुर जिल्लामा भएकाले शिक्षक राईको हत्या प्रकरणमा अनुसन्धान तथा कानुनी कारबाही जिल्ला प्रहरी कार्यालय भोजपुरबाटै अघि बढ्ने भएको छ। घटनाको अनुसन्धानमा आवश्यक सहयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।