भारतीय रक्षामन्त्री सिंहद्वारा बाढीपीडितप्रति समवेदना, सहयोग जारी राख्ने प्रतिबद्धता
काठमाडौं — भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६ अगस्टमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेका छन्।
सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।
उनले बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै विपत्तिमा नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन्। उनले मृतकका परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
भारत–नेपाल सम्बन्धलाई नजिकको मित्रता र साझेदारीका रूपमा उल्लेख गर्दै सिंहले भारत सधैं नेपालको सुख–दुःखमा साथमा उभिँदै आएको बताएका छन्।
उनले नेपालले सञ्चालन गरिरहेको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा भारतले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।