भोटेकोशी बाढी अपडेट : २५ प्रहरी अझै सम्पर्कविहीन, ७,२८३ प्रहरी परिचालन
भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न जिल्लामा उद्धार तथा राहतका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। उपलब्ध पछिल्लो विवरणअनुसार २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।
बाढी तथा विपद्का घटनामा हालसम्म विभिन्न जिल्लाबाट ७३५ जनाको शव फेला परेको विवरण सार्वजनिक गरिएको छ। फेला परेका शवमध्ये धादिङमा ५०, रसुवामा १३, नुवाकोटमा ५२, चितवनमा २५९, तनहुँमा ३७, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ जना रहेका छन्।
विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ७,२८३ जना प्रहरी परिचालन गरिएको छ। उद्धार तथा उपचारका क्रममा २,७१५ जना घाइते तथा उद्धार गरिएको विवरणमा उल्लेख छ।
जिल्लागत रूपमा रसुवामा ६९२, नुवाकोटमा २,०२० र धादिङमा ३ जना घाइते तथा उद्धार गरिएको जनाइएको छ।
यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० जना रहेको विवरणमा उल्लेख छ।
प्रहरीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।