भोटेकोशी बाढी प्रभावितको उद्धार बिहानैदेखि जारी रहने
भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको उद्धार आज (बिहीबार) बिहानैदेखि सुरु गरिने भएको छ। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी प्रभावित क्षेत्रबाट नागरिकको उद्धार गर्न लागिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने अस्थायी उपचार क्याम्पमा लगिनेछ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गम्भीर घाइतेलाई भने तत्काल हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ। घाइतेको अवस्थाअनुसार प्राथमिकीकरण गरी उद्धार तथा उपचार अघि बढाइने उनले बताए।
यसैबीच, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ। प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत वितरणलाई समन्वयात्मक रूपमा अघि बढाउने तयारी गरिएको छ।