नेपालका बाढी–पहिरो प्रभावित क्षेत्रमा आपत्कालीन सहायता गर्ने चीनको निर्णय
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्चस्तरीय बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत तथा उद्धार कार्यलाई तीव्रता दिने निर्णय गर्दै नेपालमा प्रभावित क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने जनाएको हो।
बैठकले अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णयसमेत गरेको छ। अत्यधिक चिसो, विकट हिमाली भूगोल तथा पहिरोका कारण बनेका हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका चिनियाँ तथा विदेशी नागरिकको वैज्ञानिक ढंगले खोजी गर्न निर्देशन दिइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धारकर्मीले विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरणका लागि उपलब्ध सबै उपाय प्रयोग गरिरहेका छन्।
यसैबीच, चिनियाँ विज्ञहरूले पहिरोका कारण बनेका दुई वटा तालको अवस्थाबारे अध्ययन तथा नक्साङ्कन गर्न ड्रोनको प्रयोग गरेका छन्। ती ताल फुटेर बाढी आउन सक्ने जोखिम रहेकाले उद्धार तथा राहत कार्यमा थप चुनौती देखिएको छ।
दक्षिणी तिब्बतको विपद्ग्रस्त क्षेत्रमा ५०० जनाभन्दा बढी मानिस अझै बेपत्ता रहेको जनाइएको छ। निरन्तर वर्षाका कारण पहिरोले बनाएका ताल फुट्न सक्ने जोखिम बढेपछि उद्धार कार्य प्रभावित भएको छ।
यसअघि विपद्ग्रस्त क्षेत्रबाट एक हजारभन्दा बढी मानिसको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये करिब ५०० जना विदेशी पर्यटक रहेको जनाइएको छ।