भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले दिने भयो २ करोड
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले बाढीपीडितका लागि दुई करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रकाशबहादुर रावलले जानकारी दिए।
बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णयसमेत गरेको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको सदस्यमा गङ्गादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय भएको छ।