भोटेकोशी बाढीमा अलपत्र ११७ विदेशी पर्यटकको उद्धार
काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर अलपत्र भएका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पछिल्लो विवरणसम्म विभिन्न देशका ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये भारतका ८५ जना, चीनका १६ जना, दक्षिण कोरियाका ९ जना, अमेरिकाका २ जना, इटालीका २ जना र अन्य देशका ३ जना रहेका छन्।
यद्यपि, बाढीपछि अझै ठूलो संख्यामा विदेशी पर्यटक सम्पर्कविहीन रहेको तथ्यांकले देखाएको छ। नेपाल पर्यटन बोर्डको बिहीबारसम्मको विवरणअनुसार ५४० जना विदेशी पर्यटक हराइरहेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको संख्या थप स्पष्ट हुँदै जाने अपेक्षा गरिएको छ।