ब्रिज इन्टरनेशनलद्वारा बाढीपीडितलाई ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ब्रान्ड एम्बेसडर रहेको ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले रसुवाको भोटेकोशी क्षेत्रसहित देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले विपद्बाटब्रिज इन्टरनेशनल प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। नेपाली क्रिकेटसँग समेत आफ्नो ब्रान्ड पहिचान जोड्दै आएको ब्रिज इन्टरनेशनलले खेलकुद क्षेत्रका चर्चित खेलाडी सन्दीप लामिछानेलाई ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध गरेको छ।
संस्थाले खेलकुद र शिक्षासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि योगदान गर्ने प्रतिबद्धताअनुसार बाढीपीडितका लागि सहयोग गरिएको जनाएको छ। ब्रिज इन्टरनेशनलका अध्यक्ष महेश गिरी र प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले प्राकृतिक विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु संस्थागत जिम्मेवारीसँगै सामाजिक दायित्वसमेत भएको बताएका छन्।
उनीहरूले विपद्को समयमा विभिन्न क्षेत्रबाट प्राप्त हुने सानो–ठुलो सहयोगले पीडित परिवारलाई पुनः सामान्य जीवनमा फर्कन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।विगत ११ वर्षभन्दा बढी समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय ब्रिज इन्टरनेशनलले विद्यार्थीको शैक्षिक भविष्य निर्माणसँगै खेलकुद तथा सामाजिक क्षेत्रमा समेत आफ्नो सहभागिता विस्तार गर्दै आएको जनाएको छ।
“नेपाल हाम्रो घर हो र नेपाली हाम्रो परिवार। कठिन समयमा आफ्ना नागरिकसँग उभिनु हाम्रो साझा जिम्मेवारी हो,” संस्थाले जनाएको छ।
ब्रिज इन्टरनेशनलले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावित समुदायको छिटो पुनःस्थापनाको कामना गरेको छ।