केरुङ पहिरोपछि खोजी तीव्र, ६८१ उद्धारकर्मी र ४७ ड्रोन परिचालन
दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत केरुङ जिल्लामा गएको भीषण पहिरोपछि बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। चिनियाँ आपत्कालीन व्यवस्थापन मन्त्रालय र राष्ट्रिय अग्निनियन्त्रण तथा उद्धार प्रशासनले प्रभावित क्षेत्रमा थप जनशक्ति तथा उद्धार उपकरण परिचालन गरेका छन्।
उद्धार अभियानमा ६८१ जना जनशक्ति, १३ वटा खोज तथा उद्धार कुकुर, ११३ वटा सवारीसाधन र ४७ वटा ड्रोन परिचालन गरिएको छ। उद्धार टोलीले जीवन पत्ता लगाउने उपकरणसहित विभिन्न विशेष उद्धार सामग्री प्रयोग गरिरहेको जनाइएको छ।
उद्धार टोलीले स्थल, हवाई तथा जलमार्गलाई एकीकृत गर्दै ग्रिड प्रणालीमा व्यवस्थित खोजी गरिरहेका छन्। कठिन भूभागमा पैदल खोजी, नदीमा डुंगामार्फत खोजी तथा ड्रोनबाट हवाई निरीक्षणलाई एकसाथ अघि बढाइएको छ।
प्रभावित क्षेत्रमा उद्धार कार्य भने चुनौतीपूर्ण बनेको छ। पहाडी भिरहरू अस्थिर रहनुका साथै ढुंगा खस्ने र थप पहिरो जाने जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन्। पहिरोका कारण सडकका ठूलो भाग क्षतिग्रस्त भएका छन् भने कतिपय क्षेत्रमा सञ्चार सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
ठूलो मात्रामा बगेको हिलो, गेग्रान र ढुंगाले नदीका उपत्यका पुरिएका कारण बेपत्ताको खोजीमा थप कठिनाइ भइरहेको छ। विशेषगरी खोँच, नदी किनार र जोखिमयुक्त क्षेत्रमा उद्धार टोलीले प्राथमिकताका साथ खोजी गरिरहेको जनाइएको छ।
उद्धारकर्मीहरूले उच्च भूभाग, तीव्र हावा र घट्दो तापक्रमका बीच काम गरिरहेका छन्। सम्भावित दोस्रो चरणका पहिरो तथा अन्य भौगर्भिक विपद्को जोखिमसमेत रहेकाले उद्धार टोलीले उच्च सतर्कता अपनाएको छ।
खोज तथा उद्धार कुकुर र जीवन पत्ता लगाउने उपकरणको प्रयोग गरी मानिस पुग्न सक्ने सम्भावित सबै क्षेत्रमा खोजीलाई विस्तार गरिएको छ। अधिकारीहरूले प्रभावित क्षेत्रमा थप भौगर्भिक विपद्को जोखिम अझै कायम रहेको भन्दै उद्धार तथा खोजी कार्य निरन्तर जारी राखेका छन्।