होर्मुज हुँदै जाने जहाजबाट शुल्क लिने इरानी संसद्को प्रस्ताव
तेहरान । इरानको संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने अनुमति प्राप्त जहाजबाट शुल्क लिने प्रस्ताव स्वीकृत गरेको छ। प्रस्तावित कानुनअन्तर्गत नेभिगेसन, वातावरणीय सेवा, सुरक्षा, बीमा तथा विशेष परिस्थितिमा इन्धन उपलब्ध गराएबापत शुल्क लिइनेछ।
समितिका प्रवक्ता हसन काशकावीका अनुसार शुल्क इरानी रियाल वा तेहरानले तोकेको अन्य मुद्रामा तिर्न सकिनेछ। यो व्यवस्था ‘होर्मुज जलडमरूमध्यको सुरक्षा तथा विकास सुनिश्चित गर्ने रणनीतिक कार्ययोजना’सम्बन्धी विधेयकको एक प्रावधान हो।
यससँगै इरानले होर्मुजमा आफ्नो नयाँ पारवहन नियम कडाइका साथ लागू गर्ने संकेत दिएको छ। फारस खाडी जलडमरूमध्य प्राधिकरणले नियम उल्लङ्घन गर्ने जहाजलाई जरिवाना, नियन्त्रणमा लिने वा जफत गर्नेसम्मको कारबाही हुन सक्ने चेतावनी दिएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानविरुद्ध अमेरिकाले अघि बढाइरहेको आर्थिक दबाब अभियान निर्णायक चरणमा पुगेको बताएका छन्। वासिङ्टनको उद्देश्य इरानका प्रमुख आम्दानी स्रोतलाई लक्षित गरी तेहरानमाथि दबाब बढाउनु रहेको अमेरिकी पक्षको भनाइ छ।
अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला होर्मुजमा व्यावसायिक जहाजको आवतजावतमा ठूलो गिरावट आएको छ। पछिल्लो सप्ताहन्तमा दुई दिनमा २० भन्दा कम मालवाहक जहाजले जलडमरूमध्य पार गरेका थिए।
इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाईले अमेरिकाको नयाँ आर्थिक कारबाहीलाई सहयोग गर्ने देशलाई इरानले शत्रुका रूपमा हेर्न सक्ने चेतावनी दिएका छन्। तेहरानले अमेरिकी आर्थिक दबाबमा साथ दिने छिमेकी मुलुकविरुद्ध समेत प्रतिकार गर्ने संकेत दिएको छ।
इरानी संसद्सँग सम्बन्धित अधिकारी मेहदी रहीमीले इरानलाई साउदी अरेबिया, टर्की र पाकिस्तानबीच भएको ‘मक्का सम्झौता’मा सहभागी हुन निम्तो आएको दाबी गरेका छन्। उनका अनुसार यस विषयमा तेहरानमा छलफल भइरहेको छ। तर साउदी अरेबिया, टर्की र पाकिस्तानका तर्फबाट उक्त दाबीको आधिकारिक पुष्टि भएको छैन।
अमेरिका र इरानबीचको तनावसँगै होर्मुजमा जहाज आवतजावतका लागि नयाँ व्यवस्थाबारे विवाद चर्किएको छ। इरान र ओमानबीच समुद्री यातायातका प्रवेश तथा निकास मार्गलगायत विषयमा प्रारम्भिक समझदारी भएको इरानी पक्षले जनाएको छ। तर उक्त समझदारीले जलडमरूमध्य पूर्ण रूपमा खुल्ने अर्थ नलाग्ने तेहरानको भनाइ छ।
इरानले यसअघि अमेरिकी नाकाबन्दी तथा तेल निर्यातसम्बन्धी प्रतिबन्ध हट्नुपर्ने लगायतका विषयमा सहमति कार्यान्वयन नभएसम्म होर्मुज नखोल्ने अडान राख्दै आएको छ।
होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा व्यापार मार्गमध्ये एक हो। पछिल्लो द्वन्द्व र सुरक्षा तनावका कारण यसको प्रयोगमा आएको गिरावटले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा थप अनिश्चितता बढाएको छ।