बर्दियाका सबै स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी
बर्दियाका आठवटै स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध गराउने तयारी तीव्र पारिएको छ। जिल्लाका राजापुर र ठाकुरबाबा नगरपालिकाले सेवा सञ्चालनमा ल्याइसकेका छन् भने बाँकी छ स्थानीय तहले पनि मङ्सिरभित्र सेवा सुरु गर्ने तयारी गरेका छन्।
सरकारको भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीतिअनुसार पहिलो चरणमा सेवा विस्तार गर्न लागिएको हो। यसबाट सेवाग्राहीले मालपोत तथा नापीसम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
राजापुर नगरपालिकाले गत असोज १३ गतेदेखि र ठाकुरबाबा नगरपालिकाले मङ्सिर २ गतेदेखि सेवा सञ्चालनमा ल्याएका हुन्। दुवै पालिकाले कर्मचारी व्यवस्थापन गरी छुट्टै शाखामार्फत सेवा प्रवाह गरिरहेका छन्।
हाल मालपोततर्फ लिखत पारित, नामसारी, जग्गा रोक्का तथा फुकुवालगायत सेवा उपलब्ध भइरहेका छन्। नापीतर्फ जग्गा नापजाँच, रेखांकन, कित्ताकाट तथा ट्रेस नक्सासम्बन्धी सेवा दिइँदै आएको छ।
भूमि प्रशासन कार्यालय बर्दियाका अनुसार मङ्सिर १६ गतेभित्र जिल्लाका सबै स्थानीय तहमा सेवा सुरु गर्ने लक्ष्य राखिएको छ। बढैयाताल गाउँपालिकासहित सेवा सुरु गर्न बाँकी पालिकाहरूले आवश्यक कर्मचारी तथा प्राविधिक जनशक्ति व्यवस्थापनको तयारी गरिरहेका छन्।
पहिलो चरणमा अनलाइन प्रणालीमा जग्गाधनी पुर्जाको विवरण प्रविष्ट भएका जग्गाधनीलाई आधारभूत सेवा उपलब्ध गराइनेछ। क्रमशः जनशक्ति र संस्थागत क्षमता वृद्धि गर्दै थप सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारी योजना रहेको छ।