अमेरिकी आर्थिक दबाब अभियानमा साथ नदिन इरानको चेतावनी
काठमाडौं — इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकलाई इरानविरुद्ध अमेरिकाले सञ्चालन गरेको भनिएको ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन चेतावनी दिएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सरकारी प्रसारक आईआरआईबी टिभीसँगको अन्तर्वार्तामा अमेरिकी अभियानलाई समर्थन गर्ने मुलुकलाई तेहरानले ‘शत्रु’का रूपमा व्यवहार गर्ने बताएका हुन्।
रेजाईका अनुसार इरानले सुरुमा सम्बन्धित मुलुकसँग वार्ता गरी अमेरिकाको आर्थिक दबाब अभियानमा सहभागी नहुन आग्रह गर्नेछ। त्यसका बाबजुद ती मुलुकले अमेरिकी अभियानलाई समर्थन गरे उनीहरूको हितविरुद्ध कारबाही गर्ने उनले चेतावनी दिए।
क्षेत्रीय मुलुकले अमेरिकी दबाब अभियानलाई समर्थन गरेमा होर्मुज जलसन्धि र फारसी खाडी हुँदै हुने तेल निर्यात रोक्ने चेतावनीसमेत रेजाईले दिएका छन्।
उनले जुनमा तेहरान र वासिङ्टनबीच भएको समझदारीपत्र (एमओयू) अन्तर्गत अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलसन्धि बन्द रहने दाबी गरेका छन्।
रेजाईको यस्तो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने कुनै पनि मुलुकविरुद्ध ‘हालसम्मकै कठोर आर्थिक कारबाही’ गर्ने घोषणा गरेपछि आएको हो।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो कारबाही ‘अभूतपूर्व स्तरको आर्थिक युद्ध र एक्ल्याउने प्रयास’ हुने बताएका थिए।
यससँगै इरान र अमेरिकाबीचको आर्थिक तथा रणनीतिक तनाव थप चर्किने संकेत देखिएको छ।