चार महिनामा देशभर करिब चार हजार विपद्जन्य घटना, १९३ जनाको मृत्यु
काठमाडौं — चालु वर्षको वैशाख १ गतेदेखि साउन १४ गतेसम्म देशभर तीन हजार ९५१ वटा विपद्जन्य घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। यस्तै, एक हजार १६५ जना घाइते भएका छन् भने पाँच हजार ८७ परिवार प्रभावित भएका छन्।
उक्त अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। प्राधिकरणका अनुसार आगलागीका एक हजार दुई वटा, सर्पदंशका ६७०, पहिरोका ६६२, हुन्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन्।
यसैबीच, साउन १३ गते बिहान १० बजेदेखि साउन १४ गते बिहान १० बजेसम्म देशभर ३४ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। सो अवधिमा विपद्बाट करिब ४१ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्राधिकरणका अनुसार उक्त अवधिमा सर्पदंश र आगलागीका आठ–आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक तथा वन्यजन्तु आक्रमणका तीन घटना भएका छन्।
यस्तै, साउन १३ गते बिहान ८:४५ बजेदेखि साउन १४ गते बिहान ८:४५ बजेसम्म देशभरका ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा अभिलेख भएको छ। सो अवधिमा सबैभन्दा बढी वर्षा कञ्चनपुरको दोधारामा भएको छ। त्यहाँ १०४.६ मिलिमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ।