पाँचथरमा पहिरोको जोखिम, ४३ घरपरिवार प्रभावित
पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङ्मादिनमा गएको पहिरोका कारण ४३ घरपरिवार उच्च जोखिममा परेका छन्। निरन्तर वर्षापछि सुक्खा पहिरो खस्दा बस्ती नै जोखिममा परेको हो।
हालसम्म फालेलुङमा ११ घर पूर्ण रूपमा विस्थापित भएका छन्। लुङ्मादिनका ३ घरपरिवारलाई श्री सिंह आविमा राखिएको छ भने सिरिसे टोलका ५ परिवार छिमेकीको घरमा बसिरहेका छन्।
यस्तै, वडा नम्बर २ बरडाँडा, जोरपाटी र वडा नम्बर ३ ताङ्लेमा समेत पहिरोले घरमा क्षति पुर्याएको छ। सडक अवरुद्ध हुनुका साथै केही घर उच्च जोखिममा परेका छन्।
फालेलुङ गाउँपालिकाले विस्थापित परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ। जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगूले जानकारी दिए।
स्थानीयका अनुसार पहिरोले घर–जग्गामा चिरा पारेपछि वर्षा हुँदा सुरक्षित स्थान खोज्नुपर्ने अवस्था छ। बस्ती स्थानान्तरणका लागि प्रदेश र संघ सरकारसँग सहयोग माग गरिएको छ।
यसैबीच, नेकपा कोसी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ ले पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै राहत तथा पुनर्स्थापनाका लागि पहल गर्ने बताएका छन्।