ट्राफिक नियम उल्लङ्घनमा हर्क साम्पाङ कारबाहीको दायरामा
कोशी प्रदेश अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक नियम उल्लङ्घन गरेको प्रमाण भेटिएकाले कारबाहीको दायरामा आउने बताएका छन्।
प्रहरी उपरीक्षक गिरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा साम्पाङले ट्राफिक नियम उल्लङ्घन गरेको स्पष्ट देखिन्छ। “सर्वसाधारणलाई लाग्ने कानुन सबैलाई समान रूपमा लागू हुन्छ, कसैलाई छुट हुँदैन,” उनले भने। उनका अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिहरूले झन् उदाहरण प्रस्तुत गर्नुपर्ने भएकाले नियम पालना अनिवार्य हुन्छ।
प्रहरीले कारबाही स्वरूप जरिवाना गरिने जनाएको छ। त्यसका लागि साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता प्रमाणपत्र (ब्लू बुक) आवश्यक पर्ने र त्यसको खोजी भइरहेको गिरीले जानकारी दिए।
दुई दिनअघि हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका थिए। उनले उदयपुरबाट फर्कने क्रममा दुर्घटना भएको र सामान्य चोट लागेको बताएका छन्। साम्पाङले आफैँ सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै दुर्घटनाबारे जानकारी दिएका थिए।
भिडियोमा उनी एक हातले मोटरसाइकल चलाउँदै र अर्को हातले मोबाइल प्रयोग गरेर भिडियो खिच्दै गरेको देखिन्छ। साथै, उनले हेल्मेटसमेत नलगाएको देखिएको छ। सोही भिडियोमा उनी लडेर घाइते भएको दृश्य पनि देखिन्छ।
भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। प्रतिक्रिया दिँदै साम्पाङले लेखेका छन्, “म आफैँ लडेँ, चोट मलाई नै लाग्यो। देशलाई चोट दिएको छैन।”
यसैबीच, धरानमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कारबाहीको विषयमा प्रश्न उठाउँदै भने, “कारबाही कसले गर्ने? म आफैँ नियम बनाउने मान्छे।” एक हातले मोटरसाइकल चलाउने विषयमा सोध्दा उनले भने, “एक हातले त बाइक कुदाइहालिन्छ नि।”
प्रहरीले भने ट्राफिक नियम उल्लङ्घन कसैले गरे पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।