अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि करसम्बन्धी अफवाह फैलाइएको आरोप
काठमाडौं, असार २६ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका विषयलाई लिएर आफूमाथि संगठित रूपमा अफवाह फैलाइएको आरोप लगाएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनले बजेटमाथि छलफल गर्नुपर्ने समयमा संसद अवरुद्ध गरी आफूविरुद्ध भ्रम सिर्जना गरिएको बताएका हुन्।
मन्त्री वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न व्यक्तिहरूमाथि सरकारले छानबिन गरिरहेको उल्लेख गर्दै त्यही समूहबाट सरकारविरुद्ध आक्रमण भइरहेको हुन सक्ने आशंका व्यक्त गरे। उनले आर्थिक विधेयकमा रहेका त्रुटिहरू सच्याएर पुनः सांसदहरूलाई उपलब्ध गराइएको जानकारी दिए।
आर्थिक विधेयकको पाना गायब पारिएको भन्दै जनतामा फैलाइएको भ्रम धेरै दिन टिक्न नसक्ने उनको भनाइ छ। साथै, प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बीवाइडी गाडी आयात गरिएको भन्ने आरोपलाई उनले पूर्ण रूपमा निराधार बताएका छन्।
मन्त्री वाग्लेले सुशासनप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुमानका भरमा कर वृद्धि हुने हल्लाका कारण व्यवसायीहरूले हतारमा गाडी आयात गरेको हुन सक्ने बताए। बजेट अघि ठूलो संख्यामा विद्युतीय सवारी भित्रिँदा राज्यलाई राजस्वको हिसाबले फाइदा पुगेको उनले दाबी गरे।
उनले करसम्बन्धी कुनै अनियमितता नभएकाले संसदीय छानबिन समिति गठनको माग अनुचित रहेको पनि स्पष्ट पारे। बिना प्रमाण आरोपका आधारमा छानबिनको माग गर्नु संसदको गरिमा विपरीत हुने भन्दै उनले प्रश्न उठाए।