काठमाडौँ उपत्यकामा २४ घण्टामा २,४८९ सवारी चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४८९ जना चालकलाई कारबाही गरेको जनाएको छ। सो कारबाहीबाट राज्यकोषमा कुल २२ लाख ७४ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने २५८ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १७० जना र तीव्र गतिमा सवारी चलाउने ११२ जना कारबाहीमा परेका छन्।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने ३२५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६४ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१ जना, तोकिएको स्थानमा यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ६२ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ३२८ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम गर्न यस्ता अनुगमन तथा कारबाहीलाई अझ कडाइका साथ निरन्तरता दिइने जनाएको छ।