भन्सार छलेर भारतबाट ल्याइएका २२ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा
भन्सार छलेर नेपाल भित्र्याउन लागिएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ। बिहीबार वीरगञ्ज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगञ्ज महानगरपालिका–२५ स्थित सिर्सिया नाकाबाट ७ थान तथा बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा नाकाबाट १ गरी २२ वटा इलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीले बरामद गरेको हो।
प्रहरीले ती स्कुटर अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारेको जनाएको छ। प्रहरी टोली पुग्नेबित्तिकै स्कुटर ल्याइरहेका व्यक्ति सामान छाडेर फरार भएका थिए। बरामद स्कुटरको अनुमानित मूल्य १७ लाख ३० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सबै स्कुटर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। सीमा क्षेत्रमा भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपि मोहनराज निरौलाले जानकारी दिएका छन् ।