सामाजिक सुरक्षा भत्तामा ३१ लाख हिनामिना आरोप, तत्कालीन प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा
ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा पाँच जनाविरुद्ध आरोपपत्र दायर गरेको हो। गाउँपालिकाको वडा नम्बर ९, पोकलीमा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आयोगको आरोप छ।
आयोगका अनुसार अनियमिततामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला वि.क. र तत्कालीन वडा अध्यक्ष शुकविर तामाङको मिलेमतो रहेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका क्रममा तत्कालीन वडा अध्यक्ष तामाङले आफ्नै दायाँ हातको बुढीऔँलाको छाप ३६० पटक प्रयोग गरी दुई आर्थिक वर्षका ६ वटै चौमासिकमा २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ।
त्यसैगरी, सामाजिक सुरक्षा भत्ता वितरणको नामावलीमा एउटै लाभग्राहीको दोहोरो नाम समावेश गर्ने, मृत्यु भइसकेका व्यक्तिको लगत कट्टा नगर्ने तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीको विवरण अद्यावधिक नगरी भत्ता वितरण गरेको आरोप लगाइएको छ।
गलत विवरणसहितको अभिलेख तयार गरी पेस्की फर्छ्यौट गराउँदा थप दुई लाख ५२ हजार रुपैयाँसमेत हिनामिना भएको आयोगको दाबी छ। यसरी कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुगेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले पाँचै जना प्रतिवादीविरुद्ध बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।