कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
कालिगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु भएको छ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बालक वरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ बस्ने ३२ वर्षीय विमला गौलीसहित १२ जनाको टोली आज कागबेनीमा श्राद्ध गर्न पुगेको थियो । उक्त स्थानमा दिवंगत पितृको नाममा श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा वरुण नदीमा खसेर बेपत्ता भएकाे प्रहरीले जनाएको छ ।
हराएका बालकको चप्पल नदीको छेउमा फेला परेको भन्ने खबरपछि प्रहरी चौकी कागबेनीबाट चार जना, जिल्ला प्रहरी कार्यालयबाट पाँच जना र सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म हेडक्वार्टर जोमसोमबाट ११ जनाको टोलीले खोजी सुरु गरेको थियो ।
त्यस क्रममा श्राद्धस्थलदेखि एक किलोमिटर दक्षिण नदी किनारामा बालक अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।
उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएकाे छ ।