विश्वभर आज ‘भ्यालेन्टाइन डे’ मनाइँदै
आज विश्वभर प्रेम र समर्पणको प्रतीकका रूपमा ‘भ्यालेन्टाइन डे’ मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी १४ का दिन मनाइने यो दिवसलाई विशेष गरी युवायुवतीले प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन्। आजको दिन रातो गुलाफ, कार्ड तथा विभिन्न उपहार आदानप्रदान गर्ने प्रचलन रहेको छ।
इतिहासअनुसार, प्रेमका पक्षधर सन्त Saint Valentine लाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको विश्वास गरिन्छ। भ्यालेन्टाइन डे को शुरुआत सन् २६९ मा इटालीको रोमबाट भएको मानिन्छ। प्रेम र वैवाहिक सम्बन्धको समर्थन गरेकै कारण उनलाई मृत्युदण्ड दिइएको कथन छ।
तेस्रो शताब्दीमा रोममा Claudius II नामका शासक थिए। उनले विवाह गरेपछि पुरुषको शक्ति र बुद्धि कमजोर हुने तर्क गर्दै सैनिक र अधिकारीलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर सन्त भ्यालेन्टाइनले उक्त निर्णयको विरोध गर्दै गोप्य रूपमा सयौँ सैनिक तथा अधिकारीको विवाह गराइदिएको भनाइ छ।
उनको यस कदमबाट क्रोधित बनेका शासकले सन् २६९ को फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिने आदेश दिएका थिए। मृत्युदण्ड अघि उनले जेलरकी दृष्टिविहीन छोरीका नाममा प्रेमपत्र लेखी ‘From your Valentine’ भनेर हस्ताक्षर गरेको किंवदन्ती छ। साथै उनले फूल उपहार पठाएको र मृत्युअघि आफ्ना आँखा ती युवतीलाई दिन अनुरोध गरेको कथासमेत प्रचलित छ।
उनकै प्रेम, त्याग र समर्पणको सम्मानमा हरेक वर्ष फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’ का रूपमा विश्वभर मनाइँदै आएको छ। अहिले यो दिवस विश्वका धेरै देशमा लोकप्रिय बनेको छ।