नयाँ दिल्लीमा लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सम्पन्न
नयाँ दिल्ली — लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन नोभेम्बर २० देखि २३ सम्म एअरसिटीस्थित होटल पुलम्यानमा सम्पन्न भएको छ। सोसाइटीका नवनिर्वाचित अध्यक्ष डा. अभिदिप चौधरीको विशेष निमन्त्रणामा नेपालसहित विभिन्न देशका विशेषज्ञहरूले सम्मेलनमा सक्रिय सहभागिता जनाए।
नेपालबाट डा. दिलिप शर्मा, डा. एकानन्द सिंह, डा. सागर पौडेल, डा. रामबाबु साह, डा. सञ्जय यादव, पुकार चन्द्र श्रेष्ठ, डा. पुकार थापा र डा. कर्ण राजवंशीलगायतका चिकित्सकहरू सम्मेलनमा सहभागी भएका थिए।
नव–निर्वाचित अध्यक्ष डा. चौधरीले कडा प्रोटोकल, पारदर्शी डोनर मूल्यांकन प्रणाली र बहुविषयक चिकित्सक टोलीको निरन्तर प्रतिबद्धताका कारण भारतमा कलेजो प्रत्यारोपण सेवा उच्च सफलतामा पुगेको उल्लेख गरे। “भारतको विशेषता केवल प्रत्यारोपणको संख्या होइन, प्रक्रियालाई मार्गदर्शन गर्ने मूल्य, अनुशासन र पारदर्शिता हो,” उनले भने।
उनका अनुसार भारतमा कलेजो प्रत्यारोपण सेवा तीव्र गतिमा विस्तार भइरहेको छ, जसको मुख्य आधार नियमित अनुसन्धान, उच्चस्तरीय तालिम तथा चिकित्सकबीचको मजबुत सहकार्य हो। दानकर्ताको सम्मान, पारदर्शिता र उपचार प्रक्रियामा परिवारको सक्रिय सहभागितालाई उनले ‘प्रत्यारोपण प्रणालीको आधारशिला’ भने।
डा. चौधरीले भारत दक्षिण एसियामा प्रत्यारोपण सेवाको नेतृत्वकर्ता बनेको बताउँदै नेपालजस्ता छिमेकी मुलुकहरूलाई प्राविधिक सहयोग, तालिम र अनुभव साझेदारीमार्फत सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनकी भनाइमा क्षेत्रीय सहकार्यले कलेजो प्रत्यारोपण सेवा अझ सुरक्षित, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउन मद्दत गर्नेछ।
सम्मेलनले दक्षिण एसियाली क्षेत्रमा प्रत्यारोपण सेवा विस्तार, गुणस्तर सुधार र चिकित्सकबीच सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।