बाढीपहिरो प्रभावित तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छियाङ
काठमाडौं — चीनका प्रधानमन्त्री ली छियाङ बाढीपहिरोबाट प्रभावित तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) गाउँ पुगेका छन्।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार प्रधानमन्त्री ली बिहीबार प्रभावित क्षेत्रमा पुगेर बाढीपहिरोबाट भएको क्षति, उद्धार तथा राहत कार्यको स्थलगत निरीक्षण गरेका हुन्।
बुधबार ग्यिरोङ क्षेत्रमा आएको ठूलो बाढीपहिरोपछि प्रधानमन्त्री ली प्रभावित क्षेत्रमा पुगेका हुन्। उनले उद्धार तथा राहतमा खटिएका कर्मचारीसँग भेट गर्नुका साथै प्रभावित स्थानीयको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्यसमेत रहेका लीलाई राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको नेतृत्व गर्न जिम्मेवारी दिएका छन्। उनीसँगै सम्बन्धित सरकारी निकायका वरिष्ठ अधिकारीहरूको टोलीसमेत तिब्बत पुगेको छ।
यसअघि बुधबार नै चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ पनि ग्यिरोङ काउन्टी पुगेर बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गरेका थिए। राष्ट्रपति सी र प्रधानमन्त्री लीले बुधबार नै उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका थिए।
यसैबीच, चीनले नेपालतर्फ करिब १०० जना चिनियाँ नागरिक अझै बेपत्ता रहेको जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले नेपालमा रहेका करिब १०० चिनियाँ नागरिकसँग सम्पर्क हुन नसकेको जानकारी दिएका हुन्।