भोटेकोशी–त्रिशूली बाढीमा ५३८ जनाको मृत्यु, ९७७ अझै सम्पर्कविहीन
काठमाडौं । तिब्बत क्षेत्रमा हिमपहिरो खसेपछि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट अहिलेसम्म ५३८ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार दिउँसो ३ बजेसम्म ५३८ जनाको शव फेला परेको जनाएको हो। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार ७४२ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ। प्राधिकरणका अनुसार ५१७ जना विदेशी नागरिक अझै सम्पर्कविहीन छन्।
त्यस्तै, नेपालमा घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना कर्मचारी रहेका छन्।
यस्तै रसुवा र नुवाकोटका १६२ जना तथा मकवानपुरका ६६ जना पनि अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
उद्धार तथा राहतका लागि नेपाली सेना र निजी क्षेत्रका गरी ७८ वटा हवाई उडान सञ्चालन गरिएको छ। उद्धार कार्यमा ४ हजार ४७३ जना नेपाल प्रहरी, ६ हजार ६९६ जना नेपाली सेना र ६ हजार ३५८ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन ३० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। त्यस्तै, हेलिकप्टरमार्फत चारवटा उडान गरी तत्काल आवश्यक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको प्राधिकरणले जनाएको छ।