जसपामा एकता/सहकार्यको विषयमा विभाजन, नेकपा र मधेसवादी दलबिच मतभेद
काठमाडौँ, २ मंसिर । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा पार्टीको आगामी रणनीति र एकता सम्बन्धी विषयमा विवाद देखिएको छ। सोमबारबाट सुरु भएको कार्यकारिणी बैठक मंगलबार पनि जारी रहेको छ।
जसपा नेता प्रदीप यादवका अनुसार बैठकमा कार्यकारिणी सदस्यहरूले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेसवादी दलहरूसँग एकता वा सहकार्य गर्नुपर्ने विषयमा फरक धारणा राखेका छन्। सोमबारको बैठकमा ५० प्रतिशत सदस्यले नेकपासँग एकता गर्नुपर्ने मत राखेका थिए भने बाँकी ५० प्रतिशत सदस्यले मधेसवादी दलहरूसँग मोर्चाबन्दी अथवा कार्यगत एकता गर्नुपर्ने पक्षमा थिए।
‘पार्टीमा विवाद छैन, सबैको विचार सुनेर अध्यक्षज्यूले निर्णय गर्नुपर्छ,’ यादवले भने। उनले पार्टी विभाजन हुने अवस्था नआउने पनि स्पष्ट पारेका छन्।
गतवर्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट छुटेर अशोक राईले जसपा गठन गरेका थिए। राईको पार्टीमा मधेसवादी पंक्ति पनि बलियो छ। यादव निकट नेताहरू मधेसवादी दलसँग सहकार्य गर्नुपर्ने पक्षमा रहेका छन्।
जसपाले यस विषयमा मंगलबार बेलुकासम्म औपचारिक निर्णय गर्ने तयारी गरेको छ।