इजरायली प्रधानमन्त्री कार्यालयको जानकारी अनुसार बेपत्ता विपिनको अवस्था अज्ञात
काठमाडौं। इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै पनि थाहा हुन नसकेको बताएका छन्। यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका हुन् ।
आइतबार बिहान अनलाइनखबरसँग टेलिफोनमा कुराकानी गर्दै राजदूत पण्डितले भने, ‘विपिनको अवस्था अझै अज्ञात छ र उनको अवस्था कस्तो छ भन्ने थाहा हुन सकेको छैन ।’
मिडियाहरुमा विपिनबारे विभिन्न समाचार आइरहेकाले आफूले प्रधानमन्त्री कार्यालयमा बुझेको र त्यहाँका अधिकारीहरुले विपिनको अवस्था अझै थाहा हुन नसकेको बताएको पण्डितले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘विपिनबारे केही नयाँ जानकारी आए सबैभन्दा पहिले तपाईंलाई खबर गर्छौं भनेर इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकृतहरुले भनेका छन् ।’
उनले आधिकारिक निकायबाट पुष्टि नभई समाचार नलेख्न र पीडित परिवारको भावनामा चोट नपुर्याउन अनुरोध समेत गरे ।