गृहमन्त्री गुरुङद्वारा बीपी प्रतिष्ठानको अनुगमन, बिचौलिया नियन्त्रण गर्न निर्देशन
धरान । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालमा हुने बिचौलियाका गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन्।
अनुगमनका क्रममा उनले उपचारका लागि आउने बिरामीको सुरक्षा, स्वास्थ्य सेवाको सहज पहुँच र अस्पतालमा बिचौलियाको प्रभावबारे चासो व्यक्त गरेका थिए।
गृहमन्त्री गुरुङले बिरामीको हितलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकता दिन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए। उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न आग्रह गरे।
सो अवसरमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की, निर्देशक इन्द्रकुमार बिचौलियालगायत पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, सुधारका प्रयास तथा भावी योजनाबारे जानकारी गराएका थिए।
गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको अवस्थाबारे समेत जानकारी लिँदै सेवा सञ्चालन प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन निर्देशन दिएका थिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको पनि अवलोकन गरेका छन्। उनी आजै इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम रहेको छ।