स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार परिसरमा सार्ने तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ। सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय स्थानान्तरण गर्न लागिएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सो ठाउँमा अस्थायी रूपमा ‘प्रिफ्याब’ भवनहरू निर्माण भइरहेको छ।
उनले भने, “नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ रहेको खाली जग्गामा छ वटा प्रिफ्याब भवन बन्दैछन्। बाँकी खाली भवनमा रङ गरी कार्पेटिङ गरेर कार्यालय सञ्चालन गर्ने योजना छ।”
प्रवक्ता बुढाथोकीले दुई हप्ताभित्र संरचना तयार गरी स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी भइरहेको बताए। उनका अनुसार, सम्भवतः मङ्सिर १ गतेदेखि मन्त्रालय सिंहदरबारमै सर्नेछ।
उनले थपे, “सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन तयार भएपछि अहिलेको संसद् सचिवालयको भवनलाई स्वास्थ्य मन्त्रालयको स्थायी संरचना बनाउन सकिने सम्भावना छ। त्यसबारे छलफल भइरहेको छ।”
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो। हाल मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ।