बाढी र पहिरोको जोखिमका कारण राति बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना र बाढी–पहिरोको उच्च जोखिम पूर्वानुमान गरेपछि बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले राजमार्गमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै शुक्रबार बिहान ६ बजेसम्म दुई दिनका लागि अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धुली सीमा नेपालथोकसम्मको सडकखण्डमा दुई दिन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
समितिले दुई दिनको अवधिमा अत्यावश्यक नभएसम्म बाहिर ननिस्कन, विशेषगरी टाढा यात्रा नगर्न र रातिको समयमा यात्राबाट जोगिन आग्रह गरेको छ। साथै, पहिरोको जोखिम रहेका स्थान तथा नदीकिनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
यसअघि मनसुनजन्य जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिनका लागि राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। त्यसपछि यही असोज १ गतेदेखि पुनः चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो।
जोखिमका कारण गत असार ७ गतेदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म राति १२ घण्टा सवारी सञ्चालन बन्द गरिएको थियो।
समितिले हाल मनसुन थप सक्रिय भएकाले बिपी राजमार्गमा बाढी–पहिरोको सम्भावित जोखिम उच्च रहेको जनाउँदै, विपद्जन्य घटना हुन नदिन राजमार्गको उक्त खण्डमा सवारी सञ्चालन रोक लगाइएको र सर्वसाधारणलाई सतर्क रहन सार्वजनिक अपिल गरेको छ।
काठमाडौँबाट पूर्वतर्फ जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङमा, र पूर्वतर्फबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई सिन्धुलीको नेपालथोकमै रोकिएको छ।
मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई ध्यानमा राखी यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका सुरक्षा निकायका प्रमुखहरू सम्मिलित अन्तरजिल्ला समन्वय समितिले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६:३० देखि बिहान ५ बजेसम्म करिब १५ दिन सवारी सञ्चालनमा रोक लगाएको थियो। सो प्रतिबन्ध असार मसान्तसम्म थप गरिएको थियो भने साउन महिनाभर साँझ ५ देखि बिहान ५ बजेसम्म रोक कायम गरिएको थियो।
गत वर्ष असोज महिनाको बाढी–पहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्म करिब आठ किलोमिटर सडक बगाएको थियो। त्यसपछि कतै एकतर्फी र कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक पुनः सञ्चालनमा ल्याइएको थियो।
उक्त विपद्बाट राजमार्गको कुल १६० किलोमिटरमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडक विभिन्न स्थानमा क्षतिग्रस्त भएको थियो।
हाल क्षतिग्रस्त भागको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ। पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने यो राजमार्ग हुँदै दैनिक हजारौँ सवारीसाधन आवागमन हुने गर्छ।