फोहोर-मैलालाई मजाकको विषय नबनाउन अध्यक्ष ओलीको आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गराउनुभएको छ।
विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि २ घण्टे अभियान’ ले बुधबार भक्तपुरमा आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो,-'फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन र फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो । यसलाई कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु।'
वातावरण दिवसका दिन एक–दुई गोष्ठी, सभा सम्मेलन र औपचारिक वृक्षरोपण गरेर मात्र प्रदूषण नरोकिने उल्लेख गर्दै उहाँले वातावरण संरक्षण अभियानमा समाजका सबै तह र तप्काबाट साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो,-'हिमाल हामीसँग छ, यसलाई सुरक्षित राख्नुपर्छ। हिमालमा हिउँ भयो भने मात्र अस्वाभाविक रूपमा वृद्धि भइरहेको पृथ्वीको तापक्रमलाई सन्तुलनमा राख्न सकिन्छ र अन्यथा अकल्पनीय समस्या व्यहोर्न पर्छ । त्यसतर्फ समयमै सजग एवं सचेत भएर वातावरण जोगाउने अभियानमा सरिक होऔँ।'