गृहमन्त्री लामिछानेको गुनासो: 'सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ, मेरो भाग्य नै यस्तै रहेछ, ठिकै छ भाग्यसँग लड्दै गरौंला'
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिंड्नु परेको गुनासो गर्नुभएको छ ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले आफूले कैयौं पटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिंड्नु परेको गुनासो गर्नुभएको छ ।
गृहमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुखेसो पोख्नुभयो । आफूले जस्तोसुकै आरोप खेप्नु परे पनि नेपाली जनताको अधिकार प्राप्तिका लागि लडाइँ लड्न भने नछोड्ने उहाँले दृढता व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो,- ‘मेरो त भाग्य यस्तै छ। जुन विषयका लागि आफू लडेको हुन्छु, त्यसैको आरोप खेप्नुपर्छ। नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो। जब कि जीवनभर त्यसैको पक्षमा लडिरहें। सहकारी पीडितहरूका लागि कैयौं रिपोर्ट बनाइयो, कतिका लागि लडियो। कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो। अहिले सहकारी ठगको ट्याग बोकेर हिंड्नु परेको छ। ठिकै छ मेरो भाग्यसँग लड्दै गरौंला । तर त्यो भन्दा ठूलो त तपाईको अधिकारका लागि म लड्नु छ। म त्यसमा स्पष्ट छु।’
गृहमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताउनुभयो।