मधेश प्रदेशको मुख्यमन्त्री पदका लागि जनमत पार्टीका सतिश सिंहले गरे दावी पेश
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री पदका लागि शुक्रबार बिहान जनमतका सतिश कुमार सिंले दावी पेश गर्नुभएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष सिंहले मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको हो । सिंहलाई मधेशमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी कुल ५५ जना सांसदको समर्थन रहेको छ ।
यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएपनि जनमतले सिंहलाई अगाडि सारेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिनुभएको हो ।